काठमाडौं - सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन अध्यक्ष लोकबहादुर महतारा,सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा हिनामिना गरी नेपाल सरकार तथा सार्वजनिक संस्थालाई ७ लाख १५ हजार ९१६ रुपैयाँ ५ पैसा बराबरको हानि पुर्याएको अनुसन्धानबाट पुष्टि भएको छ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा कटान गरी २०७८/७९ मा चिरान गरिएको काठ बिक्री गर्दा वास्तविक आम्दानीभन्दा ९५ हजार ११८ रुपैयाँ ८० पैसा कम आम्दानी देखाइएको पाइएको छ। त्यसैगरी काठ चिरानी खर्चमा वास्तविकभन्दा ३ लाख ६६ हजार ९१६ रुपैयाँ ५ पैसा बढी खर्च देखाइएको आयोगले जनाएको छ।
यस्तै वन हेरालुको पारिश्रमिक शीर्षकमा वास्तविक खर्चभन्दा ९० हजार रुपैयाँ बढी भुक्तानी देखाउँदै झुट्टा भरपाई तयार गरिएको,समितिको विधान संशोधनका लागि काठमाडौं आउँदा तत्कालीन अध्यक्ष महताराले १ लाख २० हजार रुपैयाँ खर्चको आधार खुलाउन नसकेको तथा घरभाडा शीर्षकमा ४४ हजार रुपैयाँ बराबरको झुट्टा बिल भरपाई पेश गरिएको पनि अनुसन्धानबाट खुलेको छ।
आयोगले यी सबै कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग भएको निष्कर्ष निकाल्दै तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम ७ लाख १५ हजार ९१६ रुपैयाँ बिगो माग गरेको छ।


0 comment