काठमाडौं - विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन आवश्यक कानुन बनाउन खोजेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वश्नीय बनाउन आवश्यक कानुन बनाउन खोजेको बताएका हुन् ।
उनले विधेयकमाथि विज्ञहरुको राय सुझाव निकै महत्वपूर्ण रहेको बताए। उनले अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति भएको भन्दै अहिलेको विधेयकले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्रै हेर्ने धारणा राखे ।
बैठकमा विज्ञहरुले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गुणस्तरीय र विश्वसनीय बनाउन सक्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै उनीहरुले राष्ट्रिय प्रयोगशाला भएकाले गोपनियताका साथै सुरक्षाका विषयमा समेत आवश्यक व्यवस्थासहितको कानुन बनाउनुपर्ने धारणा राखेका छन् ।


0 comment