काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ ।

आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले  मानवअधिकारका बिषयमा नेपाल सरकार समक्ष गरेका सिफारिहरुको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका छन् ।

स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको उनले बताए ।

उनले आगामी दिनमा सिफारिस कार्यान्वयनतर्फ सरकारले सकारात्मक पाइला चाहेमा मात्रै कानूनी शासनको प्रत्याभूतिका साथै मानवअधिकार संस्कृतिको निर्माण सम्भव हुने धारणा राखे ।

लोकतन्त्रमा व्यक्ति भन्दा प्रक्रिया र परिणाम महत्वपूर्ण हुने भन्दै अध्यक्ष मगरले राज्यका सबै निकायहरुले अझ बढी लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

साथै उनले नागरिक तथा राजनीतिक अधिकारको तुलनामा अझै पनि आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकारहरुको प्राप्ति र प्रयोग सन्तोषजनक हुन नसकेकाले राज्यले थप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे ।