काठमाडौं - सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भनेको सरकारले निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा नै कटौती गरेको छ । स्वास्थ्य बिमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।
बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बिमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।
यो निर्णयसँगै देशभरका निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ । ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम आर्थिककै धराशायी हुने अवस्थामा पुगेको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको साधन बनायो । दिगोपनतर्फ गम्भीर ध्यान नदिँदा परिणामस्वरूप अहिले स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै संकटमा पुगेको छ ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब भने बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम व्यवहारत: संकुचनको चरणमा पुगेको देखिन्छ ।


0 comment