काठमाडौं - आईपीएल २०२५ मा ऐतिहासिक रूपमा पहिलो पटक उपाधि जितेको रोयल च्यालेन्जर्स बेङ्गलुरुको स्वागतका लागि जम्मा भएका भीडमा भगदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेङ्गलुरुस्थित चिन्नास्वामी रंगशालाबाहिर खुशीयाली मनाउने क्रममा भागदौड उनीहरुको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

आज लाखौं समर्थक आरसीबीको जितको खुसीयाली मनाउन सडकमा निस्किएका थिए। स्टेडियमको सानो गेटबाट प्रवेश गर्न खोज्दा भीडले च्यापिएर दुर्घटना भएको एक उच्च प्रहरी अधिकारीले बताएका छन्। १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको तस्बिरहरू सार्वजनिक भएका छन्।

कर्नाटक प्रदेशका उपमुख्यमन्त्री डीके शिवकुमारले घटनाले अत्यन्तै दुःखित बनाएको भन्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले भने, ‘जित गौरवको विषय हो, तर मानवीय जीवनभन्दा ठुलो होइन। सुरक्षामा सतर्कता आवश्यक छ।’ उपमुख्यमन्त्रीले घाइतेहरूको उपचारमा कुनै कमि नहोस् भनेर घाइतेहरुलाई भेट्न अस्पताल पुगेका छन्।